images
images

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी


  • 441
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस ६ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । 

    जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । 

    त्यस्तै राष्ट्रिय जनमोर्चाले २ वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका र नेकपा (एमाले)ले ढोरपाटन नगरपालिका जितेका छन् । 

    यसअघिको स्थानीय तहको निर्वाचनमा बागलुङका ४ वटा स्थानीय तहको प्रमुख र २ वटा स्थानीय तहमा उपप्रमुख जितेको नेकपा एमालेले यसपटक ढोरपाटन नगरपालिकाको प्रमुखमा मात्रै चित्त बुझाउनुपर्र्यो । सत्तामा रहेका पाँच दल मिलेर निर्वाचनमा होमिँदा एमालेले बागलुङमा प्रतिस्पर्धामै रहेर पनि अधिकांश स्थानीय तहमा हार बेहोर्र्यो । जसको फाइदा सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उठाएका छन् । 

    जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि ४ स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङ नगरपालिकामा वसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा राजु थापा, गलकोट नगरपालिकामा भरत शर्मा गैरे, बडीगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् । 
     
    यसअघि जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । 

    अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये ८ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ । 
     
    जैमिनी नगरपालिकामा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटन नगरपालिकामा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गर्नुभएको छ । 

    तमानखोला गाउँपालिकामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित हुनुभयो भने बरेङ गाउँपालिकामा दिलीपकुमार पुन र ताराखोला गाउँपालिकामा भीमबहादुर रोकाले जीत हासिल गर्नुभयोे ।

    जैमिनी नगरपालिकाको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित हुनुभयो । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जित्नुभयो । ताराखोला गाउँपालिकाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङ नगरपालिकाको उपप्रमुख, गलकोट नगरपालिकाको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ । 

    ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जित्नुभयो भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जित्नुभयो । 

    अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

    बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ । एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।


    images
    images

    Logo