लहान । नगरपालिका मध्ये सबैभन्दा बढी २४ वटा वडा रहेको लहान नगरपालिकामा गठबन्धनका मेयर, उपमेयर विजयी भएका छन् । गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका महेश प्रसाद चौधरी मेयरमा ७ हाजार मतअन्तरले बिजयी भएका छन् भने उपमेयरमा जसपाका रामचरित्र विजय भएका हुन् । विजयी घोषणा भने हुन बाँकी रहेकाे छ ।
मत परिणाम अनुसार काँग्रेसले १५ वटा वडामा वडाध्यक्ष जितेको छ । गठबन्धनकै जसपाबाट ३ वटा वडा र माओवादीबाट १ वडाध्यक्ष विजय भएका छन् । नेकपा एमालेबाट ४ वडा र एकीकृत समाजवादीबाट १ वडाध्यक्ष विजय भएको जनइएको छ । काँग्रेसको विजय भएका वडामा १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ रहेका छन् ।
नेकपा एमालेले १०, १७, १८ र २१ मा वडाध्यक्ष जितेको छ। त्यसैगरी, जसपाका ४, २३ र २४ मा वडाध्यक्ष विजय भएका छन् । वडा नं २१ मा माओवादीका वडाध्यक्ष विजय भएका छन् भने एकीकृत समाजवादीले लहान १४ मा वडाध्य जितेको छ । २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ९ वटा वडा जितेर नेकपा एमालेलाई कडा टक्कर दिएपनि प्रमुख र उप–प्रमुख पदमा एमाले उमेदवार बिजयी भएका थिए ।
यसपालीको चुनावमा भने नेपाली कांग्रेसले एमालेका गढ मानिएका वडा नं ५ र ११ मा पनि जित्न सफल भएको छ । वडा नं–५ मा लहान नगरपालिकाका निवर्तमान प्रमुखको घर भएको वडा हो भने ११ नं नेकपा एमालेका नगर सभापतिको घर हो । गत स्थानीय तहको चुनावमा ती दुबै वडामा एमालेले जित हात पारेको थियो ।
यस अघि एमालेबाट मुनि साहले ११ हजार ३ सय १ मत ल्याएर नगर प्रमुख पदमा बिजयी भका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १ सय ३१ मत ल्याएका थिए ।



