काठमाडाैं । नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासिक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।
प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी काँग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा काँग्रेसले विजय हासिल गरेको छ । नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । उनि वडा नं १५ का निवर्तमान वडाध्यक्ष थिए ।
काँग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ, १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् ।
नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुन् । निर्वाचित भएपछि उनले राससलाई भने, “निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्नेछु ।”



