काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले २ वटा इन्स्योरेन्स कम्पनीलाई ९८ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।
बोर्डका अनुसार आईएमई जनरल इन्स्योरेन्सले १०ः४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । अब कम्पनीले ४६ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ३० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।



