images
images

भोटेकोसी बाढीको चपेटामा पाँच जिल्ला, ४९ वडा प्रभावित (सूचीसहित)


  • 58
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    भोटेकोसी बाढीको चपेटामा पाँच जिल्ला, ४९ वडा प्रभावित (सूचीसहित)

    काठमाडौं । भदौ १० गते रसुवामा भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तह बाढीको चपेटामा परेका हुन् ।

    प्राधिकरणका अनुसार रसुवाका चार स्थानीय तहका ११ वडा प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका सबै पाँच वडा बाढीबाट प्रभावित छन् । गोसाईंकुण्ड गाउँपालिकाका चार, आमाछोदिङ्मो गाउँपालिकाको एक र कालिका गाउँपालिकाको एक वडा प्रभावित भएका छन् ।

    त्यस्तै, नुवाकोटका चार स्थानीय तहका ११ वडा, धादिङका चार स्थानीय तहका १८ वडा, गोरखाको गण्डकी गाउँपालिकाका पाँच वडा तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकाका चार वडा प्रभावित भएका छन् ।

    प्रभावित वडाहरूको विवरण
    रसुवा

    उत्तरगया गाउँपालिका : वडा नं. १, २, ३, ४ र ५
    गोसाईंकुण्ड गाउँपालिका : वडा नं. १, २, ३ र ५
    आमाछोदिङ्मो गाउँपालिका : वडा नं. १
    कालिका गाउँपालिका : वडा नं. १

    नुवाकोट

    तारकेश्वर गाउँपालिका : वडा नं. २ र ४
    किस्पाङ गाउँपालिका : वडा नं. ५
    विदुर नगरपालिका : वडा नं. १, ४, ५, ८ र १०
    बेलकोटगढी नगरपालिका : वडा नं. २, ७ र ८

    धादिङ

    गल्छी गाउँपालिका : वडा नं. १, २, ४, ६ र ८
    गजुरी गाउँपालिका : वडा नं. १, ३, ४ र ६
    बेनिघाट रोराङ गाउँपालिका : वडा नं. ३, ५, ७, ९ र १०
    सिद्धलेक गाउँपालिका : वडा नं. ३, ४, ६ र ७

    गोरखा

    गण्डकी गाउँपालिका : वडा नं. १, २, ६, ७ र ८

    तनहुँ

    देवघाट गाउँपालिका : वडा नं. ४ र ५
    आँबुखैरेनी गाउँपालिका : वडा नं. ४ र ५

    सरकारले बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

    प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, २६७ जना घाइते भएका छन् भने करिब ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। विपद्को प्रभाव र खोज तथा उद्धारको क्रम जारी रहेकाले यी तथ्यांक अझै बढ्न सक्ने जनाइएको छ ।

    ३ हजार ५९६ जनाको हवाई उद्धार

    बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जना गरी ३ हजार ५९६ जनाको हवाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

    तर, न्यून मात्र प्रभावित भएका, प्रभावित नभएका वा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी छन् ।

    आपत्कालीन अवस्थामा अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्ने भन्दै प्राधिकरणले अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    यी हुन् वैकल्पिक सडकमार्ग

    प्राधिकरणले धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) बाट पृथ्वी राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौघडा–आप्पर–नर्जी–लच्याङ–समथ्र्यौली–पाटीखर्क हुँदै बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

    प्राधिकरणले क्रमशः वैकल्पिक सडकमार्गहरू सञ्चालनमा आउन थालेकाले सम्भव भएसम्म सडकमार्ग प्रयोग गर्न र अत्यावश्यक अवस्थाका लागि मात्र हवाई उद्धारको माग गर्न प्रभावित नागरिकलाई आग्रह गरेको छ ।


    images
    images

    Logo