भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ५५ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गर्ने भएको छ । आइतवार बिहान बसेको नगरपालिकाको कार्यपालिका वैठकले सो निर्णय गरेको नगर प्रमसख बाहुदेव थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भदौ १० गते बिहान भोटेकोशीमा आएको बढीले अकल्पनीय धनजनको क्षत्रि पुर्याएकोमा दुःख व्यक्त गर्दै वैठकले पिडित सर्वसाधारणको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिका विपद व्यवस्थापन कोषबाट सो रकम दिने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी वैठकले नगर प्रमुख बाहुदेव थापाको तर्फबाट एक महिनाको सेवा सुविधा प्राप्त हुने रकम बरावर ३५ हजार रुपैयाँ, उप प्रमुख शरिता तिमिल्सिना भट्टराईका तर्फबाट १५ हजार रुपैया दिने निर्णय गरिएको छ ।
त्यसैगरी सबै १० जना वडाअध्यक्षहरुले जनही १० हजार, कार्यपालिका सदस्यहरुबाट प्रतिव्यक्ति ६ हजार रुपैंया र वडा सदस्यबाट जनहि दुई हजार ५ सय रुपैयाँ प्रदान गर्ने निर्णय भएको नगर प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए । त्यसैगरी वैठकले महा विपत्तीको यस घडीमा पिडित सर्वसाधारणको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न नगरपालिका सदैव प्रतिवद्ध रहेको जनाइएको छ ।
महाविपत्तीका समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पुर्ण नागरिक समाज, नीजिक्षेत्र, संघ संस्था र आम नगरवासीलाई वैठकले आग्रह गरेको छ । यसअघि भक्तपुरका मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले क्रमस ५१ लाख र ५० लाख रुपैया बाढी पिडितका लागि दिने निर्णय गरेका थिए ।



