नेपालमा ‘ग्यास्ट्रिक’ अर्थात् पेटसम्बन्धी समस्या निकै सामान्य मानिन्छ । पेट दुख्ने, पेट फुल्ने, खाना खाएपछि असहज हुने वा खानुअघि नै पेट दुख्नेजस्ता समस्या देखिएपछि धेरैजसो मानिस चिकित्सकको सल्लाह लिनुभन्दा आफूखुसी ‘ग्यास्ट्रिकको औषधि’ सेवन गर्ने गर्छन् । तर यस्ता लक्षण बारम्बार दोहोरिइरहेका छन् भने औषधि मात्र सेवन गर्नुको सट्टा समस्याको वास्तविक कारण पत्ता लगाउनु आवश्यक हुन्छ ।
ग्यास्ट्रिक वा ग्यास्ट्राइटिसका विभिन्न कारण हुन सक्छन् । तीमध्ये हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) संक्रमण महत्वपूर्ण कारण हो । त्यस्तै, अत्यधिक तथा अनावश्यक रूपमा पेनकिलर औषधिको सेवनले पनि पेटमा समस्या निम्त्याउन सक्छ ।
यसका अतिरिक्त खानपान नमिल्नु, समयमा खाना नखानु, लामो समयसम्म भोकै बस्नु, नियमित रूपमा व्रत बस्नु तथा खानाको समय अनियमित हुनुजस्ता कारणले पनि पेटसम्बन्धी समस्या देखिन सक्छ ।
हेलिकोब्याक्टर पाइलोरी के हो ?
हेलिकोब्याक्टर पाइलोरी एक प्रकारको ब्याक्टेरिया हो, जसले पेटमा संक्रमण गराउन सक्छ। सरसफाइ, व्यक्तिगत हाइजिन तथा स्यानिटेसनमा पर्याप्त ध्यान नदिँदा यसको संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ ।
हेलिकोब्याक्टर पाइलोरीको संक्रमण भएपछि पेटमा ग्यास्ट्राइटिसजस्ता लक्षण देखिन सक्छन् । पेट फुल्ने, पेट दुख्ने, खाना खाएपछि पेट दुख्ने वा खाना खानुअघि नै पेट दुख्नेजस्ता समस्या यसको संक्रमणसँग सम्बन्धित हुन सक्छन् ।
समयमै संक्रमणको पहिचान गरी उपचार नगरेमा केही व्यक्तिमा पेटको अल्सरसमेत हुन सक्छ । दुर्लभ अवस्थामा हेलिकोब्याक्टर पाइलोरी संक्रमण पेटको क्यान्सरसँग पनि सम्बन्धित हुन सक्छ । त्यसैले लामो समयदेखि दोहोरिइरहेको पेटसम्बन्धी समस्यालाई सामान्य ‘ग्यास्ट्रिक’ भनेर बेवास्ता गर्नु उचित हुँदैन ।
कसरी पत्ता लगाउने ?
हेलिकोब्याक्टर पाइलोरी संक्रमण पत्ता लगाउन विभिन्न परीक्षण गर्न सकिन्छ । चिकित्सकको सल्लाहअनुसार रगत परीक्षण, दिसाको परीक्षण तथा युरिया ब्रेथ टेस्टबाट यसको पहिचान गर्न सकिन्छ । आवश्यक अवस्थामा इन्डोस्कोपीमार्फत पनि संक्रमणको अवस्था जाँच गर्न सकिन्छ ।
कुन परीक्षण गर्ने भन्ने कुरा बिरामीको लक्षण र स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकले निर्धारण गर्छन् ।
उपचार सम्भव छ
हेलिकोब्याक्टर पाइलोरी संक्रमण परीक्षणबाट पुष्टि भएमा चिकित्सकले आवश्यक औषधि र एन्टिबायोटिकको कोर्समार्फत उपचार गर्छन् । संक्रमणको अवस्था र स्थानीय एन्टिबायोटिक प्रतिरोधका आधारमा विभिन्न उपचार पद्धति प्रयोग हुन सक्छन् । सामान्यतया ट्रिपल वा क्वाड्रपल थेरापीजस्ता उपचार विधि प्रयोग गरिन्छ ।
तर संक्रमणको उपचार भएपछि समस्या फेरि हुँदैन भन्ने हुँदैन । पुनः संक्रमण हुन सक्ने सम्भावना रहन्छ। त्यसैले उपचारसँगै सरसफाइ, व्यक्तिगत हाइजिन, सुरक्षित खानेपानी र स्वच्छ खानपानमा ध्यान दिन आवश्यक हुन्छ ।
‘ग्यास्ट्रिकको औषधि’ मात्रै भर नपर्नुस्
पेट दुख्ने वा ग्यास बढ्नेबित्तिकै आफूखुसी औषधि सेवन गर्ने बानीले वास्तविक समस्या पहिचान हुन ढिला हुन सक्छ । विशेषगरी लक्षण बारम्बार दोहोरिने, लामो समयसम्म रहने वा औषधि सेवन गर्दा पनि सुधार नहुने अवस्थामा चिकित्सकसँग परामर्श गरी कारण पत्ता लगाउनु आवश्यक हुन्छ ।
ग्यास्ट्रिकका लक्षण देखिँदैमा सबैमा हेलिकोब्याक्टर पाइलोरी संक्रमण हुन्छ भन्ने होइन । त्यसैले परीक्षण र चिकित्सकीय मूल्यांकनपछि मात्र उचित उपचार सुरु गर्नुपर्छ ।
मुख्य कुरा के हो भने, ग्यास्ट्रिक भयो भन्दैमा आफ्नो इच्छाअनुसार औषधि सेवन गर्नुको सट्टा समस्याको कारण पत्ता लगाउनु जरुरी छ । कारण पहिचान भएपछि अधिकांश अवस्थामा उचित उपचार गर्न सकिन्छ ।
(इन्टरनल मेडिसिनमा एमडी गरेका डा. शाह उदयपुर विशेषज्ञ पोलीक्लिनिकका कार्यकारी निर्देशक हुन् ।)


डा विवेक प्रभात शाह

