images
images

बाढी पिडितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री


  • 116
    SHARES
  • २०८३ भाद्र १४ गते आइतबार

    बाढी पिडितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटले समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमै वितरण गरिएको हो ।
          
    नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन् । ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक–एक वटा छन् । बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गर्ने गरिरहेका छ । 

    समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार, त्यसैअनुसार आवश्यकताका आधारमा ती सामग्री होल्डिङ सेन्टरमा पठाउने गरिएको छ ।  सङ्कलित सामग्री गाडी नपुग्ने स्थानमा हेलिकप्टरमार्फत पठाइएको रेग्मीले जानकारी दिए।
          
    बाढीपीडितलाई होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा बासको व्यवस्था मिलाउने कार्यमा स्थानीय तहले सहजीकरण गरिरहेका छन् । “प्रत्येक होल्डिङ सेन्टरमा हामीले स्वास्थ्य जाँच र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएका छौँ”, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बाढीबाट पुगेको जनधन क्षतिका विवरण सङ्कलनसँगै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर काम गरिरहेको बताए ।
          
    राहत सामग्री सङ्कलन तथा वितरणलाई एकद्वार प्रणाली बनाउने भनिए पनि केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर आफैँ राहत सामग्री उपलब्ध गराएका छन् । जसका कारण समानुपातिक रुपमा सबै होल्डिङ सेन्टरमा राहत सामग्री पुग्न सकेको छैन । 

    दाताहरू सिधै होल्डिङ सेन्टरमा आएर राहत सामग्री दिन थालेपछि अन्य स्थानमा पनि लैजान अनुरोध गरेको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए । राहत सामग्रीमा धेरैजसो चामल, दाल, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेको छ । खाद्य सामग्रीको तुलनामा लत्ताकपडा कम प्राप्त भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । 

    नुवाकोटको सबैभन्दा बाढीप्रभावित बस्तीहरूमा विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर, देवीघाट हुन् । त्यसैगरी किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल, मैलुङ क्षेत्रका बस्ती प्रभावित हुँदा अधिकांशले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । 

    बेलकोटगढी नगरपालिकाको सबैभन्दा बढी प्रभावित बस्तीमा ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी, कोल्पुटार छन् । सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थान खोजी गर्दै आइपुग्नेलाई आश्रय दिइएको छ ।

    नदी पारिका क्षेत्रमा राहत वितरणमा कठिनाइ
          
    सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारिका क्षेत्रमा वितरणमा कठिनाइ भएको छ । केही संस्थाले ‘ड्रोन’मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पु¥याउन थालेका छन् । बाढीबाट प्रभावित नदी पारीका बस्तीहरू विदुर नगरपालिकाको वडा नं १, ३, ६, ७, ९ र १२ मा पर्छन् । 

    वडा नं १ को त्रिशूली बजार, ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, ६ को चैनपुर आसपास, ७ को तुप्चेका बस्तीहरू, ९ को सिलट्याङ्कीक्षेत्र र १२ को चारघरेका विभिन्न स्थान छन् । सदरमुकामदेखि त्रिशूली नदी पारी सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । तर तादी र कोल्पुखोलाको पुल बगाएसँगै बेलकोटगढी–७ महादेव माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरसम्म राहत सामग्री पु¥याउन पनि हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ ।
          
    शनिबार जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय छलफलमा स्थानीयले सङ्घीय सरकारलाई नदी पारीका क्षेत्रमा राहत सामग्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेका थिए । यी क्षेत्रमा वारिका पारि र पारिका वारि विद्यालय भएका बालबालिका विद्यालय जाने क्रममा बाढी आएसँगै पुल बगाएपछि चारदिनदेखि घरपरिवारसँग पुनर्मिलन हुन नसक्दा समस्या भएको अभिभावकले गुनासो गरेका छन् ।
          
    बाढीप्रभावितलाई केन्द्रित गरी होल्डिङ सेन्टरमा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको छ । हाल त्रिशूली अस्पतालसँग यातायात सुविधा विच्छेद भएको अवस्थामा पीडितहरूको शारीरिक तथा मानसिक दुवै अवस्थालाई ख्याल गरी स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । नुवाकोटमा हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन । 

    जिल्लाका सरोकार भएकाहरूसँग शनिबार पहिचान नभएका शव व्यवस्थापनसम्बन्धी बैठक बसेको थियो । सो बैठकमा प्रजिअ रेग्मीले करिब तीन सय हाराहारीमा शव व्यवस्थापन गर्ने सामाग्री आवश्यक पर्न सक्ने बताएताएका थिए । जिल्लामा शनिबारसम्म ८२१ जना बाढीमा परी बेपत्ता भएको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीले जानकारी दिए ।
          




    images
    images

    Logo