images
images

भोटेकोशी बाढी : ३३० जनाको उद्धार, त्रिशूली हाइड्रोको सुरुङमा अझै खोजी जारी


  • 103
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    भोटेकोशी बाढी : ३३० जनाको उद्धार, त्रिशूली हाइड्रोको सुरुङमा अझै खोजी जारी

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ । बाढीका कारण विभिन्न स्थानमा फसेका ३३० जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ ।

    सैनिक मुख्यालयका अनुसार सोमबार दिउँसो १ः३० बजेसम्म विभिन्न स्थानबाट ३३० जनालाई जीवितै उद्धार गरिएको हो । बाढी प्रभावित विभिन्न जिल्लामा सेनाले ८ हजार ९ सयभन्दा बढी फौज परिचालन गरेको जनाएको छ ।

    बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई पनि प्राथमिकता दिइएको छ । विभिन्न आयोजनाका सुरुङमा सेना, विज्ञ तथा संयुक्त उद्धार टोली परिचालन गरी खोजी भइरहेको छ ।

    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा भने खोजी कार्य पूरा भएको छ । करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली २२५ मिटरसम्म प्रवेश गरी खोजी गरेको थियो । सुरुङभित्र ड्रोनसमेत प्रयोग गरेर खोजी गर्दा कोही पनि व्यक्ति फेला परेनन् । त्यसपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको छ ।

    यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा करिब १५ मिटरभित्र विज्ञसहितको टोली प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ ।

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि प्रवेशमार्ग खोल्न गएराति विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । सुरुङभित्र फसेका वा सम्पर्कविहीन व्यक्तिको सम्भावित अवस्थाबारे यकिन गर्न उद्धार टोलीले थप खोजी गरिरहेको छ ।

    त्यसैगरी, विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा करिब १०० मिटरभित्र प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एउटा शव फेला पारी बाहिर ल्याएको सेनाले जनाएको छ ।

    यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी रहेको छ ।

    भोटेकोशी बाढीले रसुवाका जलविद्युत् आयोजना, सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएपछि सुरुङभित्र फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजी चुनौतीपूर्ण बनेको छ । सुरुङको अवस्था, पानी तथा भग्नावशेषका कारण उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेको छ ।

    नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानलाई निरन्तरता दिँदै सम्भावित जोखिममा रहेका व्यक्तिको उद्धार र सम्पर्कविहीनहरूको खोजीलाई प्राथमिकतामा राखेको जनाएको छ ।


    images
    images

    Logo