काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डाक्टर विराजसिंह थापा नियुक्त भएका छन् ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिस्ट्रार थापाले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । विगत २२ वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत थिए। उनले नर्वेबाट जलविद्युत् विषयमा विद्यावारिधि गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि सक्रियता र टिमवर्कका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए । मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत पहिचानसहित ट्रस्टी मोडलमा अघि बढाउनुपर्ने बताए । उच्च शिक्षा सुधारका लागि देशका सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कक्षा १२ पछि उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन काठमाडौँ विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि मन्त्री पोखरेलले बताए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।



