काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि ठूला होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि ग्यासका बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएको हो । १४ भदौमा सडक भासिएपछि ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको भन्दै निगमले घरायसी तथा अत्यावश्यक उपभोक्तालाई प्राथमिकतामा राख्ने निर्णय गरेको जनाएको छ ।
बुधबार नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी तथा ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको हो ।
निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार अब काठमाडौं उपत्यकाका ग्यास डिपो तथा विक्रेतामार्फत होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा अन्य व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री गरिने छैन ।
‘घरायसी ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाबाट ग्यास बिक्री गर्न नदिने निर्णय गरिएको हो,’ उनले भने, ‘ठूला होटल र उद्योगले आफूलाई आवश्यक पर्ने ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगबाट सीधै खरिद गरी ल्याउनुपर्नेछ ।’
यो व्यवस्था लागू भएसँगै हेटौंडा, चितवन, नवलपरासीलगायत जिल्लाबाट काठमाडौं ल्याइएका ग्यास सिलिन्डर उपत्यकाभित्र व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन ।
निगमले व्यावसायिक प्रयोजनमा ग्यास प्रयोग गर्ने ठूला उपभोक्ता तथा व्यवसायीलाई आफ्नै सवारी र ढुवानीको व्यवस्था गरी सम्बन्धित ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरेर ल्याउनुपर्ने व्यवस्था मिलाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्ति गर्ने उद्योगहरूले हाललाई तराईका उद्योगमै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने तयारी पनि गरिएको निगमले जनाएको छ । कठिन परिस्थितिमा काठमाडौं ल्याइएको ग्यास समानुपातिक र सहज रूपमा वितरण गर्न विक्रेताहरूलाई निर्देशन दिइएको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले तराईबाट ग्यास ल्याउने वैकल्पिक व्यवस्था मिलाउन पहल भइरहेको बताए । उनका अनुसार उपलब्ध हुने ग्यास अत्यावश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ ।
निर्णयअनुसार विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका केन्द्रलाई आवश्यकताका आधारमा ग्यास उपलब्ध गराइनेछ ।
यसैबीच बजारमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन नेपाल आयल निगमको द्रुत अनुगमन टोली (क्यूआरटी) मा ग्यास विक्रेताका तर्फबाट पनि दुई जना प्रतिनिधि सहभागी गराउने निर्णय भएको छ ।
बैठकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक विनीतमणि उपाध्याय, उपनिर्देशक इन्दु शर्मा अधिकारी, ग्यास विक्रेता महासंघ नेपालका कार्यवाहक उपाध्यक्ष विष्णुप्रसाद दुलाल तथा ग्यास विक्रेता संघ काठमाडौंका अध्यक्ष हेमबहादुर थपालगायतको उपस्थिति रहेको थियो ।



