images
images

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन


  • 181
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन् ।

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले आज प्रेस विज्ञप्ति जारी गरेर मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका ३८५ जना सम्पर्कविहीन भएको जनाएको छ ।

    हाइड्रो मेकानिकल तथा इलेक्टो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन रहेका छन् ।

    नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना जना अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ ।

    कम्पनीका अनुसार सम्पर्कविहीन रहेकामध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशङ्का गरिएको छ । कम्पनीका अनुसार माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट भने  ८७६ जनाको उद्धार गरिएको छ । 

    यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको थियो । यो आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

    कम्पनीका अनुसार बाढीले आयोजनाको निर्माण सम्पन्न हुनलागेको बाँधलगायतका संरचना (हेडवक्र्स) र कार्यालय तथा आवास क्षेत्र पूर्णरूपमा बगाएको छ । 

    बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको जनाएको छ । आयोजनामा त्योबेला एक हजार ४३३ जना जनशक्ति कार्यरत रहेका थिए । 

    त्यसमध्ये प्रवर्द्धक कम्पनीको तर्फबाट २७ जना, परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्टकातर्फबाट २० जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ७८, मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनकातर्फबाट एक हजार ६९ जना र इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोकोतर्फबाट २३९ जना आयोजनामा स्थलमा कार्यरत थिए ।

    कम्पनीले विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम तथा थप पहिरोको सम्भावना, प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको जनाएको छ । कम्पनीले अझै पनि उद्धारका कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ ।


    images
    images

    Logo