काठमाडौं । क्रेता : ब्रोकर नं ३२ ।
बिक्रेता : ब्रोकर नम्बर २९ ।
कारोबार संख्या : ६०० कित्ता ।
कारोबार रकम : २ लाख ३९ हजार ४ सय रुपैयाँ ।
कारोबार मूल्य : ३ सय ९९ रुपैयाँ ।
नेपाल बंगलादेश बैंकको आजको अन्तिम कारोबारको विवरण हो यो । तर, यो कारोबारको विशेष महत्व छ । यो आजको अन्तिम कारोबार मात्रै नभएर शेयर बजारमा बंगलादेश बैंकको २६ वर्ष लामो कारोबार इतिहासको अन्त्य पनि हो ।
नेपाल बंगलादेश बैंकले नेपाली बैंकिङ इतिहासमा २७ वर्ष बिताएको छ । २०५० माघ १ गते नेपाल राष्ट्र बैंकबाट सञ्चालनको स्वीकृति पाएको सो बैंकले २०५१ साल जेठ २३ गते कारोबार सुरु गरेको थियो ।
स्थापनाको दोस्रो वर्ष अर्थात् २०५२ सालमै सो बैंकको शेयर दोस्रो बजारमा सूचीकृत भइ कारोबार सुरु भएको थियो । नबिल बैंकसँग एक्विजिसनमा जाने सम्झौता भएसँगै आइतबारदेखि सो कम्पनीको शेयर कारोबार रोक्का हुनेछ ।
अबको कारोबार सुरु हुन एक्विजिसन प्रक्रिया पूरा हुनु पर्नेछ । तर, त्यो बेलासम्म यो बैंक नबिलमा विलय भइसकेको हुनेछ । नबिलसँग मर्जर प्रक्रिया भाँडिने अवस्था भए मात्रै यो बैंकको नाममा शेयर कारोबार हुनेछ । तर, मर्जरपूर्व दुई बैंकको तयारी हेर्दा यस्तो सम्भावना गणितीय मात्रै छ ।



