काठमाडाैं । एभरेष्ट बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको अवधि ८ वर्षकाे रहनेछ ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
कुल कित्ता मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।



