काठमाडौं । मंगलबारको शेयर बजारमा ४६ अंकको उतारचढाव आएको छ । दिनभरको शेयर कारोबारमा न्युनतम र अधिकतम मूल्यबीच ४६ अंकको फरक देखिएको हो ।
कारोबार सुरु भएको पहिलो ११ मिनेटसम्म बजार परिसूचक झन्डै ३६ अंकले घटेर २ हजार ४ सय ८७ को विन्दुमा पुगेको थियो । तर, त्यसपछि भने बजारले फेरि सुधारको बाटो लिँदै उकालो लाग्न सुरु भएको थियो ।
दिनभर उतारचढावबीच गुज्रिएको परिसूचक दिउँसो साढे १ बजे २ हजार ५ सय ३३ अंकमा पुगे पनि त्यसपछि बजारले फेरि गिरावटको बाटो समातेको थियो ।
समग्रमा आजको बजारमा २ अंकको झिनो गिरावट आएको छ । बजारमा आज ३ अर्ब १३ करोड रुपैयाँ बराबरका ५८ लाख २८ हजार कित्ता शेयर कारोबार भएको छ ।
बजारमा १३ वटा समूहका उपसूचकमध्ये ६ वटाको सूचक बढ्दा बाँकी ७ वटाको सूचक घटेको छ । उत्पादनमूलक क्षेत्रका कम्पनीको परिसूचक भने आज २ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बजारमा आज ८८ कम्पनीको मूल्य बढ्दा ९४ कम्पनीको शेयर मूल्य घट्न पुगेको छ । ८ कम्पनीको मुल्य भने स्थिर रहेको छ ।
बजारमा भर्खर मात्रै कारोबार सुरु भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । गोर्खाज फाइनान्सको शेयरमूल्य भने ९.९९ प्रतिशत गिरावट भएर नकारात्मक सर्किट लागेको छ ।



