काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनमा निरन्तर घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अंकले बढेर २ हजार ५ सय १९ दशमलव ५७ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २७ स्क्रिपको ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबार २ सय २३ कम्पनीको शेयर मूल्य बढेको छ । १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत घटेको हो।
आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ।



