काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर २ हजार ६ सय ८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको ८ अर्ब १६ करोड रुपैयाँ बराबरको १ करोड ९४ लाख कित्ता शेयर किनबेच भएको छ ।
विहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका २ सय २९ कम्पनीको शेयर मूल्य बढेको छ । १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसुचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसुचक २ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.०९ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको२४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्र्टन हाइड्रोपावर र रावा इनर्जी डेभपलमेन्ट रहेको छ । त्यस्तै, एशियन हाइड्रोपावर करिव १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रो इनर्जी, इमर्जीङ् नेपाल, माया खोला हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर र एचआइडीसीएलको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।



