काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २२४.८९ अंक घटेर २ हजार ७ सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन घटेको छ। यस साता बुधबार नेप्से सामान्य अंक बढेको हो।
यस साता नेपाली धितोपत्र बजारका लगानीकर्ताहरुले साढे ३ खर्ब सम्पत्ती गुमाएका छन्। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ५७ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १०.४५ प्रतिशत घटेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६६ प्रतिशत घटेको छ।
अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १२४४.०२ अंक घटेको छ। त्यसैगरी, सबैभन्दा कम घटेको उपसमूह म्युचुअल फण्ड रहेको छ। सो उपसमूहको परिसूचक यस साता ०.३७ अंक घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ७९.८८ अंकले घटेर २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा पुगेको थियो । सो दिन १९ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार कृष्णा अष्टमी परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सो कारणले सो दिन शेयर बजार बन्द थियो ।
त्यस्तै, मंगलबार १११.९६ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६० विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन १८ अर्ब ४६ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो । बुधबार ३.८० अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ । सो दिन १३ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, साताको अन्तिम दिन विहीबार ३६.८३ अंकले घटेर २ हजार ७ सय ४९ दशमलव ५७ विन्दुमा पुगेको थियो । सो दिन १२ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता दुई कम्पनीको १० लाख ५ हजार १ सय १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनी र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।



