काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ बराबर राजस्व उठेको हो ।
चालु आर्थिक बर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत बराबर हो । एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको १.०९ प्रतिशत र पुँजीगततर्फ ८ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २.४३ प्रतिशत बराबर छ ।
त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको ५.२५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख रुपैयाँ बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ, गैरकर राजस्व १ खर्ब ३५ अर्ब रुपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर उठाउने लक्ष्य छ ।
चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख रुपैयाँ र गैरकर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ छ ।



