काठमाडौं ।साताको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.०५ अंकले बढेर ३ हजार दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३४ स्क्रिपको २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन कारोबार रकमले गत सोमबार बनाएको रेकर्ड तोडेको हो। सो दिन नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका १ सय ५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ। सो उपसमूहका सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि– इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बिहीबार ३ स्टकको शेयर सकारात्मक सर्किट लागेकाे छ। यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लागेकाे हो। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



