काठमाडौं । प्रहरी नियमावली परिवर्तन नभए नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मका झन्डै २२ जना प्रहरी अधिकारीहरू ६ महिनाभित्रै अवकाशमा जाने भएका छन् । उनीहरू उमेरहद र ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् ।
प्रहरीमा उमेरहद, सेवाअवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । प्रहरी प्रधान कार्यालयका अनुसार, चार जना एआईजी, आठ जना नायव महानिरीक्षक (डीआईजी) र १० जना एसएसपी अवकाशमा जाँदै छन् । उनीहरू उमेरहद र ३० बर्से सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् । सेवाअवधिका कारण अवकाशमा जानेको संख्या भने शून्य छ ।
यो अवधिमा सबैभन्दा पहिला अवकाशमा डीआईजी विष्णुकुमार केसी र कृष्णहरि शर्मा पोखरेल जाँदै छन् । बाग्मती प्रदेश प्रहरी प्रमुखसमेत रहेका डीआईजी केसी ३० वर्षे सेवाअवधिका कारण र पोखरेल ५६ वर्षको उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।
१६ भदौ २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका केसी पछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । उनी आगामी १५ भदौमा अनिवार्य अवकाशमा जाने भएका छन् । पोखरेल भने प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू अब तीन साता पनि प्रहरीको बर्दीमा देखिने छैनन् ।
यस्तै, डीआईजी केसीसँगै प्रहरी सहायक निरीक्षकमा भर्ना भएका १० जना एसएसपी पनि उनीसँगै अवकाशमा जाने भएका छन् । एसएसपी दिनेशराज मैनाली, जीवनकुमार श्रेष्ठ, किसनसिंह थापा, दिल्लीराज बिष्ट, रविकुमार पौडेल, रेवती ढकाल, चन्द्रदेव राई, बेलबहादुर पाण्डे, नवीनराज राई र वीरबहादुर वली ३० बर्से सेवाअवधिका कारण आगामी १५ भदौमा एकसाथ अवकाशमा जाँदै छन् ।
यस्तै, एआईजी किरण बज्राचार्य र भीमप्रसाद ढकाल पनि अब लामो समय प्रहरीको बर्दीमा देखिने छैनन् । बज्राचार्य आगामी १६ पुस र ढकाल २८ मंसिरमा ५६ बर्से उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत बज्राचार्यलाई लामिछानेले गृहमन्त्रीको जिम्मेवारी लिएलगत्तै सीआईबीबाट कार्य विभागमा सरुवा गरेका थिए । उनी आईजीपी कुँवरकै ब्याची हुन् ।
यसैगरी, डीआईजी यज्ञविनोद पोखरेल (हाल मधेस प्रदेश प्रमुख) १४ असोजमा उमेर हदका कारण अवकाश जाँदै छन् । डीआईजी अर्जुन चन्द ठकुरी (कर्णाली प्रदेश प्रमुख) १ पुसमा अवकाशमा जाँदै छन् । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशी १८ कात्तिकमा अवकाशमा जाने भएका छन् । ५६ बर्से उमेर हदका कारण १८ कात्तिकमै अवकाशमा जाने भएका हुन् । यसैगरी, डीआईजी किरण राणा १६ कात्तिकमा, केदार ढकाल २२ मंसिरमा र भरतबहादुर बोहरा १४ पुसमा अवकाशमा जानेछन् ।
यस्तै, राजेशनाथ बास्तोला ११ कात्तिकमा र कृष्णहरि शर्मा पोखरेल १५ भदौमा अवकाश हुनेछन् । बास्तोलाको ३० वर्ष सेवाअवधि पूरा हुन एक वर्षभन्दा बढी समय बाँकी छ । उनी २७ कात्तिक २०५२ सालमा भर्ना भएका हुन् । यसैगरी, प्रहरी महानिरीक्षक कुँवरसँगै प्रहरी सेवामा प्रवेश गरेका एसएसपी भोलाबहादुर रावलले १२ माघमा र गणेश चन्दले २५ मंसिरमा अवकाश पाउनेछन् ।



