काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन् ।
दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा त्यतिका कमाएको नाफा बताएका हुन् ।
८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो ।
यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए । अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उनले जानकारी दिए ।
सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको समेत जानकारी दिए । लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको जनाएका छन् ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ भने नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको हो । यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आर्थिक बर्ष २०७८/७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आर्थिक बर्षमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।
८ वर्ष अगाडि २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको जनाए । ८ वर्ष अगाडि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेका छन् । सो बेला ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड युनिट पुगेको छ ।



