काठमाडौं । नर्सको पढाइका लागि अब नयाँ मापदण्ड बनेको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो ।
हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ । उक्त व्यवस्थालाई खारेज गर्दै कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने नयाँ व्यवस्था लागू गरिएको हो ।
संसद्को आज बसेको शिक्षा समितिको बैठकमा बोल्दै योगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए । तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए ।
‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो । हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन् । हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने ।
आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए ।



