काठमाडौं । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।
‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ । यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं । यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ उनले भने ।
वैठकले सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।
यस्तै सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
साथै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको उनले बताए ।



