काठमाडौं । नेपाल–चीन सीमानाका टिङ्कर पाँच वर्षपछि खुलेको छ । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो ।
केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएपछि आवतजावत खुला भएको हो । औपचारिक पत्र नपाए पनि व्यास क्षेत्रका स्थानीयमार्फत जिल्ला प्रशासन कार्यालयले नाका खुला गरिएको जानकारी पाएको हो । उक्त नाका बन्द हुँदा ताक्लाकोटमा रहेका नेपाली नागरिकका पसल पाँच वर्षदेखि बन्द थिए ।
गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीले भिडियो संवादमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । उक्त छलफलमा असार ११ देखि नाका सञ्चालन हुने तय भएको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए तर असार २६ गते पनि नाका खुलेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन असार ३१ देखि भने नाका खुला गरिएको छ । तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिङ्कर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन् ।



