images
images

आन्दोलनका कारण नेपाल–बंगलादेश विद्युत् व्यापार सम्झौता तत्कालका लागि स्थगित


  • 307
    SHARES
  • २०८१ श्रावण १० गते बिहीबार

    आन्दोलनका कारण नेपाल–बंगलादेश विद्युत् व्यापार सम्झौता तत्कालका लागि स्थगित

    काठमाडौं । नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्नेसम्बन्धी त्रिपक्षीय सम्झौता तत्कालका लागि स्थगित भएको छ । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि सम्झौता स्थगित भएको हो । 

    नेपाल, भारत र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तयारी थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।

    यसअघि नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने जनाइएको थियो । लगत्तै पोखरामा नेपाल र बंगलादेशको सहसचिवस्तरीय र सचिवस्तरीय बैठक बस्नेसमेत तय भएको थियो ।

    विद्युत् प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ ।

    हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार) आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

    बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो ।


    images
    images

    Logo