काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यूराेपका ११ सहित १२ मुलकसँग श्रम सम्झौता र श्रम समझदारीको प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुकमा रोजगारीका नाममा नेपाली युवा ठगिने क्रम बढेपछि श्रम सम्झौता गरेर संस्थागत तवरले कामदार पठाउने तयारी सरकारले गरेको हो ।

अवैध बाटो र भिजिट भिसाका नाममा युरोप जानेले दुःख पाएको गुनासो दिनदिनै बढेपछि सरकारले श्रम सम्झौताको गृहकार्य अघि बढाएको जनाएको हो । जसमध्ये सेसेल्स, साइप्रस, माल्टालगायत मुलुकसँग श्रम सम्झौताका लागि मस्यौदा आदानप्रदान गरिएको छ । त्यस्तै पोल्यान्ड, पोर्चुगल, क्रोएसियासँग मस्यौदा प्रस्ताव गरिएको छ । श्रम अधिकारीहरूले खाडी तथा युरोपका १२ मुलुकसँग श्रम सम्झौता र श्रम समझदारीको प्रक्रिया अघि बढाएको जनाएका छन् ।
नेपालका दूतावास भएका ३० देशमा सामान्य श्रम सम्झौता र समझदारीका भरमा श्रमिक गइरहेका छन् । स्वदेशमा रोजगारी अभावमा युवा पलायन बढिरहँदा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकका समस्या र ठगी रोक्न भने राज्य संयन्त्र चुकिरहेको छ ।



