images
images

भुकम्पपीडितको तत्कालिन राहतमै डेढ अर्ब लाग्ने, सहयोगमा ७ करोड


  • 354
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    भुकम्पपीडितको तत्कालिन राहतमै डेढ अर्ब लाग्ने, सहयोगमा ७ करोड

    काठमाडौं । गत शुक्रबार गएको भुकम्पमा परी ६१ हजार घरधुरी प्रभावित भएका छन् । आंशिक तथा पूर्ण रुपमा भएका क्षति समेत गरी सो प्रभाप परेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

    भुकम्पबाट जाजरकोटमा मात्रै करिब ३५ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुमान अनुसार यो क्षेत्रका ३४ हजार ५ सय १ परिवारमा भुकम्पले प्रभाव पारेको छ । 

    त्यसमध्ये पनि ९ हजार ७ सय ९४ घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । बाँकी घरमा भने आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । 

    त्यस्तै, रूकुुम पश्चिममा २६ हजार ५ सय ३१ परिवार प्रभावित भएका छन् । त्यसमध्ये १६ हजार ५ सय ७० वटा घर घर पूर्ण रूपमा क्षति तथा ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

    भुकम्पबाट १ लाख ८० हजार भन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । घर भत्किएको घर र भुकम्पको त्रासका कारण उनीहरु खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । 

    यसअघि २०७२ सालको भुकम्पमा परेकालाई सरकारले तत्काल राहतस्वरुप प्रतिपरिवार २५ हजार सहयोग गरेको थियो । सोही बराबर सहयोग गर्दा समेत अहिले करिब १ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । राहत सामाग्रीको ढुवानी र वितरण समेत गर्दा त्योभन्दा धेरै खर्च लाग्नेछ । 

    भूकम्पबाट प्रभावित कतिपय बस्तीमा सडक नपुगेकाले राहत सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरिएको छ भने सडक सञ्जालमा जोडिएका वस्तीमा राहत सामग्री गाडीबाट ढुवानी गरिएको छ । आकाश र जमिन दुवैबाट ढुवानी गरिएको भए पनि एकद्वार प्रणालीबाट वितरण गरिएको राहत सामग्री ग्रामीण वस्तीका पीडितले नपाएको गुनासो गरेको छन् ।

    सरकारले भुकम्पपछिको राहत वितरण एकद्वार प्रणालीमार्फत् गर्ने भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग गर्न आह्वान गरे पनि हालसम्म जम्मा करिब ७ करोड रुपैयाँ मात्रै संकलन भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझसम्म ६ करोड ९५ लाख रुपैयाँ मात्रै सहयोग संकलन भएको छ । त्यसबाहेक भारत र चीन सरकारले राहतस्वरुप १०/१० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

    सरकारले यसअघि भुकम्पमा परी मृत्यु भएका मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo