काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक हाइड्रोजनबाट चल्ने कार भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा विगत ३ वर्षदेखि हाइड्रोजन उत्पादनसम्बन्धी अनुसन्धान गरिरहेको सो विश्वविद्यालयले हाइड्रोजन फ्युल सेन्टरको स्थापनासँगै उक्त कार नेपाल ल्याएको हो ।
दक्षिण कोरियाली कम्पनी हुन्डाईको नेक्सो फ्युल सेल नामक उक्त कार नेपाल ल्याइएको हो । केही दिन अघि विश्वविद्यालयमा ल्याइएको कार परीक्षणको रुपमा सोही स्थानमा सञ्चालन हुनेछ । दर्ता तथा सञ्चालन अनुमति लगायत कानूनी व्यवस्था भएपछि उक्त सवारी सडकमा गुड्नेछ ।
हालसम्म हाइड्रोजन फ्युलबाट चल्ने गाडी नेपालमा दर्ता तथा सञ्चालन गर्नसक्ने व्यवस्था छैन । हाइड्रोजनको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन तथा कानूनी अवरोध अन्त्य भएपछि मात्रै यो सम्भव रहेको अनुसन्धानमा संलग्न उपप्राध्यापक विराजसिंह थापा बताउँछन् । हाइड्रोजन कारको सफल परीक्षण भएसँगै व्यवसायिक रुपमा सञ्चालनका लागि यो कोशेढुंगा बन्नसक्ने उनको भनाइ छ ।
हाइड्रोजन ऊर्जाको उत्पादन, निर्यात र हाइड्रोजन गाडीको सम्भावनालगायत अध्ययन–अनुसन्धान गर्न निगमले केयूलाई पाँच करोड रुपैयाँ सहायता गर्ने सम्झौता थियो । निगमकै सहायताबाट नेपालमै पहिलोपल्ट हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन ल्याइएको हो ।



