images
images

८ वाणिज्य बैंक नाफामा देखिँदा ४ वटाको प्रगति 'अवास्तविक'


  • 2.8K
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    ८ वाणिज्य बैंक नाफामा देखिँदा ४ वटाको प्रगति  'अवास्तविक'

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको समयावधिको अन्तिम दिन आज बैंकहरुले यस्तो विवरण प्रकाशन गरेका हुन् । 

    यो वर्ष अधिाकंश बैंक तथा वित्तीय संस्थाको अवस्था नाजुक देखिएको छ । ठूलादेखि साना बैंकसम्मले यस अवधिमा ८० प्रतिशतसम्म नाफा गुमाएका छन् । अझ दुई बैंकले त यो अवधिमा नोक्सान नै व्यहोर्नुपरेको अवस्था छ ।

    यद्यपि यही अवधिमा ८ वाणिज्य बैंकले भने नाफामा सकारात्मक सुधार हासिल गर्न सकेका छन् । जसले समग्र वाणिज्य बैंकको नाकारात्मक अवस्थालाई सुधार गर्न समेत सक्दो सहयोग गरेका छन् । 

    यो वर्ष सबैभन्दा धेरै नाफा वृद्धि हिमालयन बैंकको देखिएको छ । सो बैंकले झण्डै ९८ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । यद्यपि यो नाफा वृद्धि वास्तविक भने होइन । अघिल्लो वर्षको त्रैमासमा हिमालयन बैंकको मात्रै नाफा समावेश थियो । यो वर्ष भने बैंकभित्र सिभिल बैंक समेत गाभिएको छ । 

    त्यस्तै, सेञ्चुरी बैंकलाई अक्वायर गरेको प्रभु बैंकको नाफामा समेत यो अवधिमा करिब ४७ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले यो अवधिमा १ अर्ब ३ करोड नाफा कमाएको हो । 

    मेगा बैंकसँग मर्जरमा गएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समेत यो अवधिको नाफामा ३३ प्रतिशत सुधार देखाएको छ । अघिल्लो वर्षको रिपोर्ट सो बैंकले तात्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै नाफा उल्लेख गरेको छ । 

    प्राइम कमर्शियल बैंक भने गत वर्षदेखि अहिलेसम्म कुनै मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भएको छैन । यद्यपि यो बैंकले ३१ प्रतिशत नाफा वृद्धिको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा १ अर्ब १५ करोड नाफा गरेको जनाएको छ । 

    त्यस्तै, माछापुच्छ्रे बैंकले हासिल गरेको २० प्रतिशत नाफा वृद्धि पनि वास्तविक नै हो । यो बैंकले यस अवधिमा ९६ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । अघिल्लो वर्ष यस्तो नाफा ४५ करोड रुपैयाँ रहेको थियो । 

    त्यस्तै, एनएमबि बैंकले करिब ६ प्रतिशत नाफा वृद्धि गरेको जनाएको छ । बैंक पनि गत वर्ष कुनै मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भएको छैन ।

    गत पुसमा बैंक अफ काठमाण्डूलाई अक्वाएर गरी एकीकृत कारोबार गरेको ग्लोबल आईएमई बैंकले यो अवधिमा करिब ३ प्रतिशत नाफा वृद्धि गरेको जनाएको छ । यो बैंकले समेत अघिल्लो वर्षको नाफामा तात्कालिन ग्लोबल आईएमई बैंकको मात्रै नाफाको अंक प्रस्तुत गरेको छ ।

    यो आधारमा मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भइ अघिल्लो वर्षको पहिलो त्रैमासभन्दा पछि एकीकृत कारोबार सुरु गरेका बैंकहरुले देखाएको रिपोर्टका आधारमा देखिएको वृद्धि वास्तविक मान्न नसक्ने देखिन्छ । संयोग नै भनौं, असोजपछि एकीकृत कारोबार गरेका चारवटै बैंकको नाफा वृद्धि यो अवधिमा सकारात्मक देखिएको छ । 

     


    images
    images

    Logo