काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै आइतबारदेखि सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने उनले बताए ।
एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्। यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।
राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।




