images
images

विजया दशमीको टीकासँगै आशीर्वाद थाप्न हिँड्नेको चहलपहल


  • 428
    SHARES
  • २०८० कार्तिक ७ गते मंगलबार

    विजया दशमीको टीकासँगै आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

    काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।

    आज बिहान ११ः०२ मा रहेको टिकाको साइतमा मान्यजवबाट आशिर्वाद लिएपछि मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो । आज दिउँसोपछि राजधानीमा तथा मुख्य मुख्य राजमार्गहरुमा समेत आइतबार र सोमबारको भन्दा धेरै चहलपहल देखिएको छ । 

    आज धेरैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा टीका लगाएका थिए । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।

    विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । 

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने पनि उनले बताए  । राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको विशेष शक्ति प्राप्त हुन्छ ।

    घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइँदै छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 

     त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।

    आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 


    images
    images

    Logo