काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । नेपाल आयल निगमले रातीदेखि लागु हुनेगरी पेट्रोलमा ११ रुपैयाँ र डिजेल र मट्टितेलमा ५/५ रुपैयाँ मूल्य घटाएको हो ।
अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर मूल्य १७२ र डिजेल र मट्टितेलको १६८ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ तोकिएको छ ।
यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर १ सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ थियो ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ११.१८ रुपैयाँ र ५.०३ रुपैयाँ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।




