काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ सय जनाभन्दा धेरै पुगेको छ ।
हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै एक सय जना विद्रोहीको अपहरणमा परेका र दुई हजार जनाभन्दा धेरै घाइते भएका इजरायलको सरकारले जनाएको छ ।
इजरायली सेनाले पनि जवाफी कारबाहीमा तीन सय ७० जना प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा दुई हजार दुई सय जनाभन्दा धेरै घाइते भएका छन् ।
उक्त आक्रमणमा १० जना नेपालीको ज्यान गएको र ३ जना घाइते भएको इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले पुष्टि गरेकी छिन् ।
उनका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
आक्रमणमा परि सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।
यसैबीच इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको छ । यस्तै हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।



