images
images

यातायात विभागका महानिर्देशकको नेतृत्वमा ‘चाडपर्व यातायात सहजीकरण समिति’ गठन


  • 1.2K
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    यातायात विभागका महानिर्देशकको नेतृत्वमा ‘चाडपर्व यातायात सहजीकरण समिति’ गठन

    काठमाडौं । चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन चाडपर्व यातायात सहजीकरण समिति गठन गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरुसँग छलफल गरि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति गठन गरेको हो । 

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरुसँग छलफल गरी दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्था प्रभावकारी बनाउनको लागि चाडपर्व यातायात सहजीकरण समिति गठन गरेका हुन् । उनले यो वर्षको दसैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्था सहजीकरण गर्ने काम समितिले गर्नुपर्ने बताए । 

    मन्त्री ज्वालाले दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारी साधन, यात्रुलाई टिकटको उपलब्धता लगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिए । उनले समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ता कर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने बताए । उनले समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा बनाउने गरी काम गर्न निर्देशन दिए । 

    मन्त्री ज्वालाले यातायात क्षेत्रका अन्य समस्या समाधानको निम्ति एजेण्डागत रुपमा छलफल गरेर सरकारले नीतिगत, कानुनी र व्यवहारिक समाधान गर्ने बताए । उनले सरोकारवाला निकायहरुको उद्देश्य चाडपर्वमा यातायात क्षेत्रमा भद्रगोल नहोस् भन्ने रहेको भन्दै चाडपर्वमा यात्रुहरुले पीडा भोग्न नपर्ने गरी व्यवस्था गर्न सबै निकाय र यातायात व्यवसायीहरुले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए । उनले एउटाले गल्ती गर्दा सबैको नराम्रो सन्देश जाने भन्दै कमी कमजोरीलाई न्यूनीकरण गर्न अनुगमनलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । 

    मन्त्री ज्वालाले दसैँको लागि समय लामो नभएको भन्दै सडकहरुको खाल्डाखुल्डी तथा बिग्रेका सडक मर्मतका लागि आजदेखि नै काम गर्न सबै क्षेत्रका सडक डिभिजन कार्यालयहरुलाई निर्देशन दिए ।

    बैठकमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो वर्षको चाडपर्वमा एक जना नेपाली नागरिकले सवारी साधनको अभावमा गाउँघरमा पुगेर टिका लगाउन पाइन भन्ने वातावरण व्यवसायीहरुले नबनाउने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरुले सवारी साधनको व्यवस्था गर्नसक्ने तर यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात क्षेत्रको अभिभावक मन्त्रालय भएकाले यातायात व्यवसायीहरुका समस्या चाडपर्व भन्दा अगाडि नै समाधान गर्न माग गरे ।


    images
    images

    Logo