काठमाडौं । बिहीबार देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको शोकमा अन्त्येष्टिको दिन बिदा दिने निर्णय गरेको थियो । नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएसँगै सो दिन सार्वजनिक बिदा हुने भएको हो ।
स्वर्गीय नेम्वाङको अन्त्येष्टि कहिले हुने भन्नेमा यसअघि अन्यौल थियो । विदेशमा रहेका दुई छोराहरु आइपुगेपछि मात्रै अन्त्येष्टि गर्ने निर्णय गरिएको थियो । उनीहरु पर्सीसम्म आइपुग्ने भएपछि बिहीबार अन्त्येष्टि गर्न लागिएको हो ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिए ।
त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरुबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।



