पोखरा, २९ भदौ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट असोज पहिलो सातादेखि दुबईका लागि नियमित सिधा उडान सुरु हुने भएको छ। फ्लाइ दुबईको जहाजले आगामी असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
पोखरा अवतरणपछि जहाज साँझ ७ः१५ बजे यात्रु लिएर दुबईका लागि उड्नेछ। फ्लाइ दुबईले एयरबस ३१९ र ३२० आलोपालो प्रयोग गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए। उनका अनुसार एयरबस ३१९ मा करिब १४० देखि १५० र ३२० मा १६० देखि १८० यात्रु अट्छन्।
फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको छ। पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते अनुमति दिएको थियो।
दुबईसँगको सिधा हवाई सम्पर्कले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन, व्यापार र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। फ्लाइ दुबई र इमिरेट्सबीचको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न गन्तव्यमा एउटै टिकटबाट यात्रा गर्न सकिने व्यवस्था हुनेछ।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौँबाट भन्दा पोखराबाट हुने उडानको टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्नेछ। फ्लाइ दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ।
लामो समयपछि पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु हुन लागेपछि पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले उडानलाई सफल र दिगो बनाउन पर्यटन व्यवसायी एकताबद्ध भएर लाग्ने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उडानलाई सफल बनाउन सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायी सबैले सहकार्य गर्नुपर्ने बताए।
पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण र अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहकार्य गर्ने समझदारीसमेत भएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित उडान सुरु गरेको थियो। यात्रु अभावका कारण उक्त सेवा हाल स्थगित छ। पोखरा–दुबई उडान भने विमानस्थलबाट हुने दोस्रो नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान हुनेछ।



