भक्तपुर, २९ भदौ । हरितालिका तीजको अवसर पारेर भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ। तीजको व्रत बसेका महिला तथा श्रद्धालुलाई दर्शनको सहज व्यवस्था गर्न मन्दिर बिहानैदेखि खुला गरिएको हो।
तत्कालीन राजा यक्ष मल्लले स्थापना गरेको मानिने केदारनाथ मन्दिर यसअघि वर्षमा दुईपटक मात्रै खुल्ने गरेको थियो। संस्कृति अध्येता गणेश रञ्जितकारका अनुसार बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिका दिन मात्र मन्दिर खोलिँदै आएको थियो।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसपटक तीजको अवसरमा पनि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो। मन्दिर खुलेसँगै बिहानैदेखि दर्शनका लागि पुग्ने महिलाको भीड बढेको छ। दर्शनका लागि मन्दिर दिनभर खुला रहनेछ।
स्थानीय सबिना बोहजुका लागि भने आजको दिन विशेष बनेको छ। उनले पहिलोपटक मन्दिरभित्र प्रवेश गरेर केदारनाथको दर्शन गर्न पाएको बताइन्।
“२०७२ सालको भूकम्पमा मन्दिर भत्किएपछि बाहिरबाटै महादेवको दर्शन गर्नुपरेको थियो। आज पहिलोपटक भित्र गएर दर्शन गर्न पाएँ,” उनले भनिन्।
यसैबीच, तीजकै अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित प्रसिद्ध चारधाम क्षेत्रमा साँझ भव्य महाआरती आयोजना गरिँदैछ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गर्न लागिएको हो। धार्मिक तथा आध्यात्मिक महत्व बोकेको महाआरतीमा तीजको व्रत बसेका महिला तथा दर्शनका लागि पुग्ने श्रद्धालुको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।
चारधाम क्षेत्रमा आयोजना हुने महाआरतीले तीजको धार्मिक र सांस्कृतिक माहोललाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।
सम्पदा संरक्षण समूहले साँझ हुने महाआरतीमा सहभागी हुन श्रद्धालुलाई आह्वान गरेको छ। कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको समूहले जनाएको छ।
यसरी, वर्षमा दुईपटक मात्र खुल्ने गरेको भक्तपुरको ऐतिहासिक केदारनाथ मन्दिर तीजको अवसरमा पहिलोपटक सर्वसाधारणका लागि खुलेपछि दर्शनसँगै भक्तपुरको दरबार स्क्वायर धार्मिक आस्थाको विशेष केन्द्र बनेको छ।



