काठमाडौं । गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धारका लागि बागमती प्रदेशले कार्यविधि ल्याएको छ । समयमा नै उपचारको पहुँचमा पुर्याउनका लागि प्रदेश सरकारले ‘ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधी २०८०’ ल्याएको हो ।
कार्यविधि अनुसार सरकारी स्वास्थ्य संस्था वा अस्पतालबाट सेवा लिइरहेका महिलाको उक्त स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको अवस्थामा अन्य अस्पताल लैजानका लागि हवाई उद्धार सेवा दिइनेछ । सडक यातायात अवरुद्ध भएको र तत्काल एम्बुलेन्स पुग्न नसक्ने स्थिति हुँदा स्वास्थ्यकर्मी वा चिकित्सकले अन्य अस्पतालमा लागि तत्कालै उपचार गर्न सके ज्यान जोगाउन सकिन्छ भनी सिफारिस गरेको अवस्थामा उक्त सेवा दिइने कार्यविधिमा जनाइएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लाको सबै स्थानीय तहका गर्भवती तथा सुत्केरी महिलाहरुलाई आवश्यक पर्दा उक्त सेवा दिइने कार्यविधिमा जनाइएको छ । तर काठमाडौं महानगर, ललितपुर महानगर र भक्तपुर जिल्लाका महिलालाई उपत्यका भित्रकै अस्पतालमा लैजान भने उक्त सेवा नपाइने जनाइएको छ । तर यदि उपत्यका बाहेकका अन्य स्थानको अस्पताल लैजानुपर्ने स्थिति परेमा उनीहरुलाई समेत हवाइ सेवा दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।
निम्न अवस्था भएर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिइन्छ :
१. लगातार १८ घण्टा भन्दा बढी प्रश्रव व्यथा लागेर बच्चा जन्मिन कठिन भएमा
२. बच्चाको हात, खुट्टा वा शरीर पहिला बाहिर निस्केर बच्चा जन्मिन कठिनाइ भएको स्थितिमा
३. बच्चा जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केमा
४. गर्भधारण गरेको २० हप्तापछि गर्भमा नै बच्चाको मृत्यु भएमा
५. गर्भवती महिलाको हात, खुट्टा र शरीर अत्याधिक सुन्निएमा
६. गर्भवती अवस्थामा रक्तश्राव भएमा
७. प्रसूति भएपछिको अवस्थामा रक्तश्राव भएको स्थितिमा
८. रक्तचाप अत्याधिक बढेमा
९. पाठेघर फुटेको लक्षण देखिएमा
१०. गर्भासय बाहिर भ्रुण बसेमा
११. बच्चा जन्मेको २४ घण्टाभित्र बच्चालाई सास फेर्न गाह्रो भएमा र अन्य किसीमको ज्यान जान सक्ने रोग पत्ता लागेमा
१२. रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिलालाई रगत दिनुपर्ने स्थिति भएमा
१३. सास फेर्न कठिनाइ भएको अवस्थामा
१४. अङ्गहरुमा कुनै किसीमको इन्फेक्सन देखिएमा
१५. गर्भपतनको क्रममा जटिल समस्या देखिएमा
१६. गर्भावस्था वा सुत्केरी अवस्थामा आकस्मिक रुपमा देखापर्ने समस्याहरु देखापरेमा



