काठमाडौं । सुन तस्करी प्रकरणमा अनावश्यक दुःख दिइएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कमर्चारीहरुले आन्दोलनमा उत्रिएका छन् । आइतबार ३ घण्टासम्म पेनडाउन गरेका कर्मचारीले सोमबारदेखि कार्गोको भन्सार जाँचपास रोक्ने भएका हुन् ।
भन्सार कर्मचारीको आत्मसम्मान र मनोबल गिराउनेगरी विभिन्न निकायबाट हुँदै आएको हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरुको माग छ । यस्तो परिस्थितिमा आफूहरु दैनिक कार्यालयको आएर काम गर्नसक्ने अवस्था नभएको उनीहरुको तर्क छ ।
सुन तस्करी प्रकरणपछि अहिले केन्द्रीय अनुसन्धान व्युरोले यो प्रकरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा सघाउनुको सट्टा कर्मचारीहरु सोधपुछ नै गर्न नहुने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि उनीहरुले सामूहिक सरुवाको लागि भन्सार विभागमा निवेदन दिएका थिए । अनुसन्धानको नाममा कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासत लिने कार्य बन्द हुनुपर्ने, अनुसन्धान गर्ने निकायले कर्मचारी गिरफ्तार गरेका यसको कारण खुलाउनुपर्ने तथा बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले २७ गतेभित्र आफूहरुको मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।



