काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथ शुक्रबार साँझ ६ बजे हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) बमोजिम सरकार बनाउन परमादेश दिएपछि एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् ।
सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
संविधानको उक्त उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।
यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा १६८९५० अनुसार बहुमत जुटाउन सक्ने सभाको कुनै पनि सदस्यलाई मुख्यमन्त्री बनाउन सकिने व्यवस्था छ ।
निवर्तमान मुख्यमन्त्री उद्धव थापा सर्वोच्चको आदेशबाट बिहीवार पदमुक्त भएका छन् ।
सभाध्यक्षले दिएको विश्वासको मत बदर भएपछि उनको पद गएको हो ।



