काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । जसमध्ये गणपति कन्स्ट्रक्सन कञ्चनपुर, तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई, जोशी विज हाउस प्रालिलाई तीन वर्षसम्मका लागि राखिएको छ ।
त्यस्तै, शिवालय बिल्डर्स प्रालि मकवानपुर, आज्ञा एण्ड कम्पनी प्रालि विराटनगर दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् भने चुलीडाँडा निर्माण सेवा, स्वयम्भू काठमाडौंलाई एक वर्ष ६ महिनासम्मको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् ।




