काठमाडौं । ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा सोमबार आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई सोमबार आगलागी भएको जानकारी दिए । आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।
बैङ्किङ कसुर मुद्दामा पक्राउ
बैङ्किङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् ।
बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको हो ।
काठमाडौंको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।



