काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।
जगेडा कोष १२५ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २८ करोड ८३ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ करोड ९७ लाख पुगेको छ ।
कम्पनीले गत आर्थिक वर्ष १५ अर्ब ४३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै १ अर्ब ३८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २० करोड पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ ८४ पैसा रहेको छ ।



