काठमाडौं । नागरिक लगानी कोषको नाफा ३६.७४ ले बढेको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी ४० करोड ४९ लाख रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा ३५ करोड ९९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १०.४९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी ११.३० प्रतिशत बढेको छ भने कुल खर्च ०.१९ प्रतिशत घटेको छ।
नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२२.३ गुणा रहेको छ।



