images
images

गत आर्थिक बर्षमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य


  • 318
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    गत आर्थिक बर्षमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।

     त्यस्तै गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आर्थिक वर्षको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।

    खुद मुनाफा :

    गत आर्थिक बर्ष २०७९/८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आर्थिक बर्षमा नबिल बैंक लिमिटेडको नाफा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बराबर छ । अघिल्लो आर्थिक बर्षमा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबर नबिल बैंकले गतवर्षको तुलनामा ३ अर्ब १७ करोड १० लाख रुपैयाँ बराबरले नाफा बढाएको हो ।

    गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षमा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

    गत आर्थिक बर्षमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आर्थिक बर्षमा ४ अर्ब २९ करोड २८ लाख बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत आर्थिक बर्ष २ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबर कमाएको छ ।

    नाफा बढी कमाउने वाणिज्य बैंकको सूचीमा एनआइसी एसिया बैंक चौँथौ नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर नाफा कमाएको छ । ४ अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर कमाएको छ ।

    ३ अर्ब रुपैयाँभन्दा माथि र ४ अर्ब रुपैयाँभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या ७ छ । गत आर्थिक बर्षमा स्टाण्डर्ड चार्टर्डस् बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका छन् । 

    त्यस्तै हिमालयन सिभिल बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ र कृषि विकास बैंकले  ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् । छ वाणिज्य बैंकले २ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँको बीचमा नाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा कममा खुम्चिएको छ । 

    गत आर्थिक बर्षमा प्रभु बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब ६१ लाख ९२ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको नाफा २ अर्ब २४ करोड १६ लाख रुपैयाँ र सिटिजन्स बैंकको नाफा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ बराबर छ । गत आर्थिक बर्षमा कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ र माछापुच्छे बैंकले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् ।

    प्रतिशेयर आम्दानी :

    वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्टाण्डर्ड चार्टर्डस् बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी ४०.२२ रुपैयाँ बराबर छ । स्टाण्डर्ड चार्टर्डस् बैंकको प्रतिशेयर आम्दानी ३७.३९ रुपैयाँ छ भने राष्ट्रिय वाणिज्य बैंकको ३३.९६ रुपैयाँ बराबर छ । 

    त्यस्तै एभरेष्ट बैंकको ३१.७२ रुपैयाँ, नबिल बैंकको २७.८२ रुपैयाँ, नेपाल बैंकको २३.२२ रुपैयाँ, सिद्धार्थ बैंकको २२.६४ रुपैयाँ र नेपाल एसबीआई बैंकको २२.१४ रुपैयाँ रहेको छ ।

    सानिमा बैंकको प्रतिशेयर आम्दानी २१.० रुपैयाँ दुई, कृषि विकास बैंकको २०.६२ रुपैयाँ, ग्लोबल आईएमई बैंकको २०.२८ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १९.४४ रुपैयाँ, एनएमबी बैंकको १८. ०५ रुपैयाँ र माछापुच्छ्रे बैंकको १५ दशमलव ०५ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी १६.०७, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी १५.रुपैयाँ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी १५.०८ रुपैयाँ रहेको छ । 

    त्यस्तै प्रभु बैंकको १२ रुपैयाँ, प्राईम कमर्सियल बैंकको ११.६६ रुपैयाँ र कुमारी बैंकको ७.४६ रुपैयाँ बराबर रहेको छ ।

    खराब कर्जा : 

    कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको ४ दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको ४ दशमलव ३५ प्रतिशत र प्राइम बैंकको ४ दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा ४ दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको ३ दशमलव २ प्रतिशत,  ग्लोबल आइएमई बैंकको ३ दशमलव ०८ प्रतिशत र सिटिजन्स बैंकको ३ दशमलव १९ प्रतिशत बराबर छ ।

    राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २ दशमलव ९५ प्रतिशत, नेपाल बैंकको २ दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको २ दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको २ दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २ दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको २ दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको २ दशमलव १२ प्रतिशत रहेको छ ।


    त्यस्तै स्टाण्डर्ड चार्टर्डस् बैंकको खराब कर्जा १ दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको १ दशमलव ०७ प्रतिशत, सानिमा बैंकको १ दशमलव ३ प्रतिशत, एनआइसी एसिया बैंकको ० दशमलव ८ प्रतिशत र एभरेष्ट बैंकको ० दशमलव ७९ प्रतिशत बराबर रहेको छ ।

    स्रेडदर :

    बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र सङ्कलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर ४ दशमलव ९९ प्रतिशत छ । कुमारी बैंकको चार दशमलव ९८, ग्लोबल आइएमई बैंकको चार दशमलव ९६, प्रभु बैंकको ४ दशमलव ८६, हिमालयन बैंकको ४ दशमलव ७९ र लक्ष्मी सनराइज बैंकको ४ दशमलव ४२ प्रतिशत बराबर छ ।
     
    स्टाण्डर्ड चार्टर्डस, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर ४ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९८, एनआइसी एसिया बैंकको ३ दशमलव ९९, नेपाल बैंकको ३ दशमलव ९५, एनएमबीको ३ दशमलव ९९ र एभरेष्ट बैंकको तीन दशमलव ९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको तीन दशमलव ९९, कृषि विकास बैंकको तीन दशमलव ९४, प्राईम बैंकको तीन दशमव ९८, नेपाल एसबीआई बैंकको तीन दशमलव ९९ र माछापुच्छ्रे बैंकको तीन दशमलव ९५ प्रतिशत बराबर छ ।

    चुक्ता पुँजी :

    चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब १२ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ बराबर रहेको छ । कुमारी बैंकको चुक्तापुँजी  २६ अर्ब २३ करोड रुपैयाँ, प्रभु बैंकको २१ अर्ब ५४ करोड रुपैयाँ, हिमालयन बैंकको २१ अर्ब ६५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

    त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड रुपैयाँ, एनआइसी एसिया बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्डस् बैंकको ९ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंकको १४ अर्ब ६९ करोड रुपैयाँ र एनएमबी बैंकको १८ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको छ ।

    त्यस्तै एभरेष्ट बैंकको १० अर्ब ६९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड रुपैयाँ, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड रुपैयाँ, सानिमा बैंकको १२ अर्ब ४६ करोड रुपैयाँ, प्राईम बैंकको १९ अर्ब ४ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको १० अर्ब १२ करोड रुपैयाँ, सिटिजन्स बैंकको १४ अर्ब २ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ ।


    images
    images

    Logo