काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब २४ करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो गत बर्षको तुलनामा ७.३२ प्रतिशतले कम हो ।
बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ वटा विकास बैंकहरुले मध्ये ३ बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाएको छ । यसरी नाफा वृद्धि गर्न सफल भएको बैंकमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।
सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । सो बैंकले गत बर्षको तुलनामा २१.२९ प्रतिशत नाफा बढाएर ७८ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ । गतवर्षको सोही अवधिमा बैंकले ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, गरिमा विकास बैंकको नाफा १८.१९ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको छ भने भने अघिल्लो आर्थिक वर्षको सोही अबधिमा १ अर्ब ३ करोड आर्जन गरेको थियो । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड नाफा आर्जन गरेको छ । यो गतबर्षको तुलनामा १.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अबधिमा १ अर्ब ३४ करोड आर्जन गरेको थियो ।
५ विकास बैंकको नाफा घट्यो
बैंकहरुले सावर्जनिक गरेको विवरण अनुसार ५ बैंकको नाफा घटेको छ । यसरी नाफा घट्नेमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्विनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।
यसमा सवैभन्दा धेरै घट्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको नाफा ४७.९५ प्रतिशतले घटेको हो । बैंकले ४७ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गत बर्षको सोही अवधिमा बैंकले ९० करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, ज्योति विकास बैंकको नाफा ०.६ प्रतिशतले घटेको छ । बैंकले ५६ करोड १० लाख नाफा आर्जन गरेको छ भने गत बर्षको सोही अवधिमा बैंकले ५६ करोड ४४ लाख नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घटेको छ । बैंकले ४३ करोड ११ लाख नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५९ करोड आर्जन गरेको थियो । लुम्विनी विकास बैंकले यस त्रैमाससम्म ६१ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । बर्षको सोही अवधिको तुलनाको ३.८८ प्रतिशतले नाफा घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अबधिमा बैंकको नाफा ६३ करोड ७१ लाख नाफा कमाएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४.८० प्रतिशतले घटेको छ । बैंकले यस त्रैमाससम्ममा ३४ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अबधिमा ५२ करोड ७१ लाख नाफाकमाएको थियो ।



