images
images

वाणिज्य बैंकको नाफा ७० अर्ब १७ करोड, २ बैंकको पोजिसन नकारात्मक


  • 460
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    वाणिज्य बैंकको नाफा ७० अर्ब १७ करोड, २ बैंकको पोजिसन नकारात्मक

    काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ७० अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । बैंकहरुले छुट्टाछुट्टै रुपमा प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकहरुको कुल नाफा ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ रहेको हो । 

    अघिल्लो आर्थिक वर्षमा समग्र वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब १७ करोड २४ लाख रुपैयाँ मात्रै थियो । यो वर्षको नाफा अघिल्लो वर्षको तुलनामा १४ अर्ब अर्थत् २४.९३ प्रतिशत बढी हो । 

    यो वर्ष २० वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा नबिल बैंकले गरेको छ । सो बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७६ प्रतिशत बढी रहेको बैंकले जनाएको छ । यद्यपि अघिल्लो वर्ष बैंकमा विलय भएको नेपाल बंगलादेश बैंकको नाफा जोडिएको थिएन । 

    त्यस्तै, बैंक अफ काठमाण्डूलाई विलय गराएको ग्लोबल आईएमई बैंकको नाफा ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षभन्दा ५६ प्रतिशत बढी रहेको बैंकले जनाएको छ । 

    यीपछिका ३ बैंकले ४ अर्बको रेञ्जमा नाफा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका हुन् । 

    त्यस्तै, ३ अर्बको रेञ्जमा नाफा कमाउने ६ बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, एनएमबि, एभरेष्ट, हिमालयन र सिद्धार्थ बैंक छन् । 

    त्यस्तै, २ अर्बको रेञ्जमा नाफा कमाउने ७ बैंकहरुमा प्रभु, कृषि विकास, सानिमा, प्राइम, लक्ष्मी, नेपाल एसबीआई र सिटिजन्स बैंक रहेका छन् । कुमारी बैंक र माछापुच्छ्ररे बैंकले पनि २ अर्र्ब नजिक नाफा कमाएका छन् । 

    नाफा वृद्धिमा को कति अगाडी?

    यो वर्ष सर्वाधिक नाफासँगै नाफा वृद्धिमा नबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडी छन् । नबिलको नाफा ७६.८६ प्रतिशतले बढ्दा स्ट्यान्डर्ड चार्टर्डको ५६.२७ प्रतिशतले नाफा बढेको छ । 

    त्यस्तै, ३ बैंकको नाफा ४० प्रतिशतको रेञ्जमा बढेको छ । ती बैंकहरुमा लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । यी तीनवटै बैंक अघिल्लो वर्ष मर्जरमा गएका बैंकहरु हुन् । 

    कृषि विकास, हिमालयन, एभरेष्ट र नेपाल एसबीआई बैंकल ३० प्रतिशत रेञ्जमा नाफा वृद्धि गर्न सफल भएका हुन् । त्यसमध्ये हिमालयन मर्जरबाट आएको बैंक हो । त्यस्तै, सानिमा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । 

    बाँकीमध्ये थप ५ बैंकले दोहोरो अंकमा नाफा बढाएका छन् । १० प्रतिशतको रेञ्जमा नाफा वृद्धि गर्ने ती बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् । 

    त्यसबाहेक सिद्धार्थ, माछापुच्छ्रे र एनएमबि बैंकको नाफा एकल अंकमा वृद्धि भएको छ । प्राइम र कुमारी बैंकले भने यो वर्ष खुद नाफा घटाएका छन् । प्राइमको १८ प्रतिशत तथा कुमारी बैंकको २४ प्रतिशतले नाफा घटेको हो । यसमध्ये कुमारी बैंक गत आर्थिक वर्षमा एनसीसी बैंकसँग मर्जरमा गएको बैंक हो ।

    मर्जरको सिनर्जीमा अनेक अनेक रुप

    नेपाल राष्ट्र बैंकले गत वर्ष वाणिज्य बैंकहरुको मर्जरको नीति लियो । सोही नीति अनुसार १४ वटा वाणिज्य बै‌ंकहरु मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सम्पन्न गरेर ७ वटा बने । समग्र बैंकको संख्या २७ बाट २० मा झर्यो । यी बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । तर, मर्जरपछि ती बैंकहरुको नाफाको अवस्था भने अनाैठो रुपमा तलमाथि भएको छ । 

    नबिल बै‌ंकले ७६ प्रतिशत भन्दा बढी नाफाको विवरण देखाउँदा लक्ष्मी सनराइजको ४९.४५ प्रतिशत, प्रभुको ४८.५४ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४६.२६ प्रतिशत, हिमालयन बैंकको ३७.९५ प्रतिशत नाफा बढेको विवरण देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको १३.१४ प्रतिशत मात्रै नाफा बढ्दा कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेको देखिएको छ ।


    images
    images

    Logo