काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असारमसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ४९.४५ प्रतिशत बढी हो । गत वर्ष बैंकको यस्तो नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । जस अनुसार बैंकको लाभांश क्षमता ८.४९ प्रतिशत रहेको छ।
सो समयमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी पनि बढेर ९९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै, असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ५५ पैसा रहेको छ । सो अवधिमा बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । निक्षेप र कर्जा लगानी क्रमशः २ खर्ब ९६ अर्ब र २ खर्ब ५३ अर्ब रहेको छ । सो समयमा बैंकको निष्कृय कर्जा २.८१ प्रतिशत पुगेको छ ।



