काठमाडौं । कृषि विकास बैंकको नाफा बढेको छ । गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । यो गतबर्षको तुलनामा ३९.१९ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा बैंकले यस्तो नाफा २ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। सो समयमा कम्पनीको खुद ब्याज आम्दानी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेको हो । गत बर्षको सोही अवधिमा यस्तो खुद ब्याज आम्दानी ८ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।
१३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। बैंकले १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७१ अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७३ अर्ब कर्जा विस्तार गरेको थियो । निक्षेप १९.७५ प्रतिशतले बृद्धि भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ ६० पैसा रहेको छ।



